जिल्लाको उत्तरमा रहेको सिन्धु नदी र पाल्चोक भगवतीको नामबाट नामकरण गरिएको मध्य क्षेत्रको बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्ला २७.२७ उत्तर देखि २८.१३ उत्तरी आक्षांस र ८५.२७ पूर्व देखि ८६.०६ पूर्व सम्म देशान्तरमा अवस्थित रहेको छ। नेपाल राष्ट्रको कूल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला बाग्मती प्रदेशको १३ वटा जिल्लाहरू मध्ये क्षेत्रफलका दृष्टिले सिन्धुली पछिको दोस्रो सबैभन्दा ठुलो जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २४४२ वर्ग कि.मि. रहेको छ। यस जिल्लाको उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत, पूर्वमा दोलखा, दक्षिणमा रामेछाप र काभ्रे, पश्चिममा काठमाडौँ र नुवाकोट जिल्ला रहेका छन्। कुल २,६०,०२६ हेक्टर क्षेत्रफल भू–भागमा फैलिएको यस जिल्लाको कुल भू-भागमा ९६९३ हेक्टर हिउँले ढाकेको, २७,३३५ हेक्टर चट्टान, १५,००० हेक्टर बन जङ्गल क्षेत्र, १९,३०५ हेक्टर चरन क्षेत्र र ६६,७१६ हेक्टर अन्य जमिन छ भने जम्मा ३२,९३३ हेक्टर खेतीयोग्य जमिन रहेको छ।
समुन्द्री सतहबाट करिब ६७१ मिटर देखि ७०८६ मिटर उचाइमा रहेको यस जिल्लाको सदरमुकाम चौतारा समुन्द्री सतहबाट १४१८ मिटरको उचाइमा र यहाँको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस देखि न्यूनतम ५ डिग्री सेल्सियस रहेको र औसत २६१.५ मिली मिटर वर्षा हुने गर्दछ।
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरूको दाँजोमा आउँदछ। यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरूमा जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरू प्रमुख हुन्। भोटेकोसी , सुनकोसी, ईन्द्रावति, ब्रम्हायणी र मेलम्ची जस्ता प्रमुख नदीहरू तथा पाँच पोखरी, भैरव कुण्ड र सूर्य कुण्ड नामक तीन प्रसिद्ध कुण्ड र सधैँ भरी तातोपानी आई रहने तातोपानी धारा, बञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज , उत्तरी भागमा ६,५३५ मिटर उचाइको जुगल हिमाल र अन्य हिमाल रहेको छन् भने ईन्द्रावति नदीको फाँट, जल बिरे खोलाको फाँट र सुनकोसी नदीको वरिपरि जस्ता सुविख्यात पर्यटकीय स्थलहरू, कला, साहित्य र संस्कृतिले जिल्लाको पहिचानलाई देशभित्र र बाहिर समेत स्थापित गरेको जसको कारणले गर्दा यस जिल्लालाई प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले उत्कृष्ट मानिन्छ।
उत्तरमा रहेको प्रमुख भन्सार बिन्दु तातोपानी समेत यसै जिल्लामा पर्दछ । कोदारी लोक मार्ग चीनसँगको व्यापारका लागि देशकै प्रमुख पारवहन मार्ग जिल्लाकै निम्ति गौरव गर्ने विषय हो।
यस जिल्लामा तामाङ, गुरुङ, लिम्बु, बाहुन, क्षेत्री, नेवार आदी समुदायका मानिसहरूको बसोबास रहेको छ। यी समुदायका मानिसहरूले विभिन्न धर्महरू अवलम्बन गरेको पाइन्छ जसमा बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको छ। यसका साथै हिन्दु , क्रिस्चियन धर्म मान्ने वर्गहरूको पनि बसोबास रहेको पाइन्छ। लिस्तिकोट, उग्र चण्डी, त्रिपुरा सुन्दरी, पाल्चोक भगवती, कोट मौलो, गौरति भीमेश्वर मन्दिर तथा लार्के घ्याङ गुम्बा सम्बन्धित समुदायका धार्मिक आस्थाको केन्द्रको रूपमा रहेका छन्।
यस जिल्लामा संघीय निर्वाचन क्षेत्र २ वटा र प्रदेश निर्वाचन क्षेत्र –४ वटा रहेका छन्। जिल्लाका १२ स्थानीय तहमध्ये ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन्। चौतारा साँगा चोक गढी, बाह्रबिसे र मेलम्ची नगरपालिका हुन् भने इन्द्रावती, जुगल, भोटेकोशी, सुनकोसी, लिसंखुपाखर, त्रिपुरा सुन्दरी, पाँच पोखरी थाङ्पाल, हेलम्बु र बलेफी गाउँपालिका हुन्।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार सिन्धुपाल्चोक जिल्लाको जनगणना यस प्रकार रहेको छ: