सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज
वातावरणीय दृष्टिकोणले सुन्दर र रमणीय सिन्धुपाल्चोक जिल्ला प्रचुर सम्भावना बोकेको सुन्दर ठाउँ हुँदा हुँदै पनि गरिबी र अभावको कारण यहाँका युवाहरू रोजगारी र उच्च अध्ययनको लागि अन्य सहर वा देशमा जाने क्रम तीव्र छ। फलतः जिल्लाको सामाजिक रूपान्तरण, जनचेतना, भौतिक विकास आदिमा सिन्धुपाल्चोक बसी युवाहरूको सहभागिता घट्दो क्रममा रहेको छ। त्यसैले आफ्नो व्यक्तिगत तथा पारिवारिक कारणले हामी अलग अलग भूगोलमा भए पनि हामी सबै एउटा प्लेटफर्ममार्फत जोडियौँ र आफ्नो गृह जिल्लाको सामाजिक रूपान्तरण, कला संस्कृतिको संरक्षण, देश विदेशमा अप्ठ्यारोमा परेका जिल्ला बासीहरूलाई सहयोग गर्ने जस्ता जिल्लाप्रतिको सामाजिक उत्तरदायित्व सामूहिक रूपमा पुरा गर्न हामीले सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज (Sindhupalchok Global Society) को स्थापना गरेका छौँ। यो संस्था संस्था दर्ता ऐन, २०३४ अनुसार विधिवत् जिल्ला प्रशासन कार्यलाल सिन्धुपाल्चोकमा दर्ता भएको संस्था हो। यस संस्थाको रजिस्टर्ड केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्ला, बलेफी गाउँपालिका वडा नम्बर ७ लामोसाँघुमा रहेको छ। सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले सदस्य संस्थाहरूको परिकल्पना गरेको छ। यो संस्थामा सिन्धुपाल्चोक मूल/पुर्ख्यौली घर भएका दाजुभाइ, दिदीबहिनी हरूले समूह बनाइ सदस्य संस्था दर्ता गर्न र सक्रिय हुन सक्नेछन्। उदाहरणको लागि कुवेतमा कार्यरत सिन्धुपाल्चोक बासीहरूले समूह निर्माण गरि भेलाबाट "सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज कुवेत" गठन गरि विधान अनुसार सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज लाई जानकारी गराइ सदस्य संस्था स्थापना गर्न सक्छन्।